MONDAY OCT 13, 2025

परम्परागत कला र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

१० भदौ, पोखरा । बाटुलेचौरमा दुई दिनसम्म चलेको ऐतिहासिक तीज मेला २०८२ मङ्गलवार सम्पन्न भएको छ।

मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले नेपाली कला, संस्कृति विश्वमा नै उत्कृष्ट रहेको बताउँदै यसको जगेर्ना गर्ने कार्यमा सामाजिक संघसंस्थाको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

तीज मेला व्यवस्थापन समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा मन्त्री थापाले विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम भएको सूर्योदय बोडिङ्ग, द्वितीय भएको सरस्वती आदर्श विद्याश्रम, तृतीय भएको प्रगति स्कुल र सान्त्वना स्थान हासिल गरेको विन्ध्यवासिनी माविलाई क्रमशः नगद १५ हजार,१० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै २५ वर्ष माथिका महिला दौडमा प्रथम हुने विष्णु खनाल, द्वितीय हुने सम्झना गुरुङ, तृतीय हुने सविना बास्तोलालाई नगद पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरे । दौडमा सहभागी ७५ वर्षिया दुर्गा केसी थापालाई विशेष प्रोत्साहन सम्मान गरिएको थियो।

मेलाको मुख्य आकर्षणका रूपमा रहेको समूहगत तीज गीत प्रस्तुतिमा त्यस वडाका १६ वटा आमा समूहले सहभागिता जनाएका थिए।
उनीहरूलाई जनही १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको संयोजक रामबहादुर बानियाँले जानकारी दिए।

वडा कार्यालय, पोखरा १६ संरक्षक रहेको मेलाको अन्तिम दिन लोकदोहोरी गायक कृष्ण सुवेदी, गणेश ढकाल र सन्ध्या बिसीले आफ्ना तीजे भाका र लोक गीत प्रस्तुत गरेका थिए।
मेलाको प्रवर्द्धन गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाले गरेको प्रचारप्रसार संयोजक मोहन थापाले बताए। कार्यक्रममा स्वागत रामबहादुर बानियाँ र सञ्चालन समितिका सदस्य भीम गायकले गरेका थिए।

Facebook Comments