MONDAY OCT 13, 2025

गण्डकीका प्रदेश प्रमुख पुगे भट्ट जन्मस्थल जोरायलमा

१ भदौ,पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिमको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन् ।

भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा आयोजना गरेको प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको अध्यात्मिक दर्शन तथा आशिर्वाद कार्यक्रममा सहभागी हुन प्रदेश प्रमुख भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी जोरायल पुगेका हुन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओली पनि सहभागी थिए ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगायत पालिकाका जनप्रतिनिधिले जोरायललाई पर्यटकीय स्थल बनाउन जगतगुरुको उपस्थितिमा यस ठाउँको इतिहासमा महिमा हुने गरी गरेको प्रयत्न सराहनीय रहेको प्रदेश प्रमुखद्वयले बताए ।

गण्डकीका प्रदेश प्रमुख भट्टले कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गर्दै सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्ने उल्लेख गरे ।

उनले भने – हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्त्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ।’

उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

Facebook Comments