पोखरा महानगर प्रमुख र जापानको नागानो प्रीफेक्चर टोली बीच भेट

२६ साउन, पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्य र नागानो प्रीफेक्चर टोली बीच भेटवार्ता सम्पन्न भएको छ ।
महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रीफेक्चरको एक टोलीले सोमवार मेयर आचार्यसँग भेटवार्ता गरेको हो ।
भेटवार्तामा कोमागाने नगरका प्रमुखलगायत कोमागाने चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको पोखरा भ्रमण तयारीका विषयमा छलफल भएको हो ।
उक्त भ्रमणमा पोखरा नगरप्रमुख र कोमागाने नगरप्रमुख युजो इतोका बीचमा महत्त्वपूर्ण विषयमा समझदारी हुने जनाइएको छ ।
स्मरण रहोस्, सन् २००१ मा दुई नगरका बीच भगिनी सम्बन्ध स्थापना भएको थियो । दुई पक्षीय सांस्कृतिक आदानप्रदान, सूचना प्रविधि, जनशक्ति, पर्यटन तथा व्यवसायीक साझेदारी, एक अर्कामा सहयोग आदानप्रदानलगायतका विषयमा समझदारी गर्दै शुरु भएको सम्बन्धको
रजत वर्षका अवसरमा हुन लागेको पोखरा भ्रमणमा दुई पक्षीय सम्बन्धको नयाँ शृङ्खला सुरु गरिने नगर प्रमुख आचार्य बताउँछन् ।
जापानी टोलीले पोखरा प्राकृतिक रूपमा निकै सुन्दर रहेकाले यहाँको पर्यटन उद्योगको विकास र नागरिकहरूको जीवनस्तर सुधारका सवालमा हातेमालो गर्न तयार रहेको बताएको छ ।
टोलीमा जापानकातर्फबाट कासुनोरी कोबाइसी, ताकासी ओकुबो, एनआरएनए नागानो केन प्रीफेक्चर जापानका अध्यक्ष जीवन पौडेल क्षत्री र पोखरा कोमागाने मैत्रीपूर्ण सम्बन्ध संयोजक उत्तमराज कायस्थ रहेका थिए ।