२६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा जुट्दै शुक्ला साहित्य प्रतिष्ठान

२३ साउन, पोखरा । शुक्ला साहित्य प्रतिष्ठानको वार्षिक कार्यक्रम राष्ट्रिय कृष्णभजन प्रतियोगिता यही साउन ३१ गते बाटुलेचौरको मैदानमा सम्पन्न हुने भएको छ ।
प्रतिष्ठानले शुक्रवार पोखरामा पत्रकार भेटघाट आयोजना गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः एकलाख, ७५ हजार, ५० हजार, २५ हजार हात पार्ने छन् । प्रतियोगिताका सहभागी समूहलाईसमेत पाँच हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले देशको कला, साहित्य र संस्कृति संरक्षणमा शुक्ला साहित्य प्रतिष्ठानले उल्लेख्य योगदान पु¥याएको बताउँदै कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने बताए ।
संस्थाकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले अघिल्लो वर्ष २१ टिम सहभागी भएको जानकारी दिँदै यो वर्ष संस्कृतिसँग बालबालिकालाई पनि जोड्न विद्यालयका भाइबहिनीलाईसमेत प्रोत्साहित गरिने बताइन् ।
अर्थ संयोजक सुमनराज पौडेलले अघिल्लो वर्ष पाँचदेखि सातहजार दर्शकले अवलोकन गरेको प्रतियोगितामा दर्शकको संख्यामा कमी हुन नदिन २३ उपसमिति बनाएर संस्था अगाडि बढेको बताउँछन् ।
भजन व्यवस्थापन उपसमिति संयोजक नेत्रबहादुर बानियाँले २०८० सालबाट पुरस्कारको राशि वृद्धि गरिएसँगै सहभागी टिमको संख्या बढ्दोक्रममा रहेको बताउँदै प्रतियोगितामा यसअघि कृष्ण भजन मात्रै गाउँदै आएकामा यसवर्ष कृष्ण भजनसँगै महाभारतको कथा वस्तुलाईसमेत जोडेर भजन गाउन पाइने जानकारी दिए ।
प्रचारप्रसार उपसमितिका संयोजक सञ्जय थापाले प्रतियोेगिता सम्पन्न गर्न १६ लाख रुपैयाँ खर्च लाग्ने जानकारी गराए ।
संस्थाका सचिव रामप्रसाद पौडेलले जहाँ साहित्य त्यहाँ संस्कृति भन्ने भावनालाई हृदयङ्गम गर्दै संस्थाले विविध साहित्यिक गोष्ठी, कविता प्रतियोगिता, कृति लोकार्पणलगायतका गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराए ।
प्रतिष्ठानकी उपाध्यक्ष गीता भट्टराई भण्डारीले संस्थाले स्थापना कालदेखि हरेक दुई वर्षमा शुक्ला साहित्य राष्ट्रिय पुरस्कारसँगै बालसाहित्य पुरस्कार, मदनचन्दा स्मृति पुरस्कार र लोककवि चेतबहादुर स्मृति पुरस्कारबाट विविध स्रष्टा साधकलाई सम्मानित तथा पुरस्कृतसमेत गर्दै आएको जानकारी गराइन् ।
२०४५ सालमा जनकवि केशरी धर्मराज थापाको अध्यक्षतामा कला साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य भन्ने उद्घोषका साथ स्थापना भएको प्रतिष्ठानले सेतीको लहर मुखपत्रसमेत प्रकाशन गर्दै आइरहेको छ ।