THURSDAY JAN 15, 2026

जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपिल

पोखरा, २२ साउन । होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्नेलगायतका जोखिम बढेको संघले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ ।

संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल (एक्ल्म्टाइज) हुँदै यात्रा गर्ने वातावरणका लागि सम्बन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालासमक्ष अपिल गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा प्रवृत्ति नअपनाउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनिकरण गर्न सरकारीस्तरबाटसमेत आवश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउनसमेत मद्दत पुग्ने छ ।’

पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आउने जाने गर्छन् । पर्यटन सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ । तर पछिल्ला दिनमा नेपालको दक्षिण सिमावर्ती क्षेत्र र तराइबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरुको ठूलै संख्या भेटिन थालेको विषय संघले उठाएको छ ।

विज्ञप्तिमा भनिएको छ– होटल संघ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनु हुन्न भन्ने पक्षमा रहेको छ । समुन्द्र सतहबाट एक सय मिटर हाराहारीको उचाई रहेको तराई क्षेत्रबाट आठ सय मिटर उचाईको पोखरा उक्लिएर उही दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो । होचो उचाईबाट एकै दिन एकतर्फी साडे तीन सय किलोमिटर भन्दा लामो अनि उचाईतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडीपूर्ण मात्र नभई बर्खा यामको रात्री कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुन सक्ने भयो ।

यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जान सक्ने जोखिम बढाएको छ भने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि संघले सचेत गराएको छ । एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक  एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउने पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ । केही दिन अघि काठमाडौंबाट हेलिकोप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका एक अष्टे«लियाली पर्यटकलाई लेक लागेपछि काठमाडौं फर्काइएको अर्को उदाहरण पनि छ ।
Facebook Comments