MONDAY OCT 13, 2025

कता अड्क्यो गण्डकी प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रिया ?

असफल गौतम

२२ साउन, पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गत वैशाख २७ गते प्रकाशित गरेको प्राज्ञ नियुक्ति प्रक्रियाले अझै पूर्णता प्राप्त गर्न सकेको छैन ।

जसका कारण पदाधिकारीविहिन प्रज्ञा–प्रतिष्ठानको कार्यालय कर्मचारीले कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

आर्थिक वर्षका तीन हप्ता भइसक्दा पनि प्रतिष्ठान प्राज्ञविहिन हुँदा सरोकारवालाको मात्र नभएर प्राज्ञमा आवेदन दिनेहरूमा पनि चासो र चिन्ता बढ्दै गएको देखिन्छ ।

वैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयले तय गरेको मापदण्डका आधारमा २४ जना प्राज्ञका लागि ९५ जनाको आवेदन परेको थियो । जसमध्ये केही आवेदकको शैक्षिक योग्यता प्रमाणपत्र तह अर्थात् १०+२ उत्तीर्ण नभएकाले स्वतः रद्द भएका छन् ।

स्थापना कालमा शैक्षिकतर्फ एसएलसीदेखि विद्यावारिधिसम्म तहसम्म, विधागततर्फ नारा लगाउने, ढुङ्गा हान्नेदेखि चार दर्जन बढी कृति प्रकाशित गर्नेसम्मका स्रष्टा प्राज्ञ नियुक्त भएका थिए ।

पहिलो कार्यकालका प्राज्ञबाट प्रज्ञा-प्रतिष्ठानको मर्म अनुसारको कर्म नभएकाले मन्त्रालयले कार्यविधि नै तयार गरेर यो पटक प्राज्ञ आह्वान गरेको थियो । विज्ञापन नै खुलाएर प्राज्ञ आह्वान गरिए तापनि सबैभन्दा अनौठो के भने नेपाली काङ्ग्रेस र नेकपा एमालेको दुई दलीय भद्र सहमति अनुसार काङ्ग्रेसका भागमा गण्डकी विश्वविद्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परेको पाइन्छ । उक्त दुवै प्रतिष्ठानमा काङ्ग्रेस निकट पदाधिकारी नियुक्त भइसकेका छन् ।

एमालेको भागमा परेको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा अघिल्लै कार्यकालका निर्देशक पुनः नियुक्त हुँदा गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्त प्रक्रियाले भने यो समाचार तयार पार्दासम्म पूर्णता प्राप्त गर्न सकेको छैन ।

दलीय सहमति अनुसार प्रज्ञा–प्रतिष्ठान एमालेको भागमा परे तापनि मन्त्रालयले विज्ञापन प्रकाशित गरेपछि एमाले, काङ्ग्रेस, माओवादीलगायत विभिन्न दल र स्वतन्त्र वाङ्मयसेवीले आवेदन दिएका छन् ।

प्रतिष्ठानका अन्य पदाधिकारीमा खासै चासो नदेखिए तापनि कुलपतिको मर्यादा प्रदेश सरकारतर्फको ११ औंँ तह बराबरको तलब भत्ता, ड्राइभरसहितको सवारी र ७५ लिटर पेट्रोल सुविधाले गर्दा कुलपतिको दौड दिनप्रतिदिन पेचिलो बन्दै गएको छ ।

प्रतिष्ठानको कुलपतिमा नेपाली काङ्ग्रेस निकट प्रा.डा. कुसुमाकर न्यौपाने, कमल पौडेल अथक र बुद्धिबहादुर (कुमार) रानाले आवेदन दिएका छन् ।
कुलपतिका दावेदार कमल पौडेल अथक भन्छन्– ‘विज्ञापन खुलाएको रहेछ म योग्य उम्मेदवार भएकाले आवेदन दिएँ ।’
योग्य उम्मेदवारले आवेदन दिनु उपयुक्त हो तर अथकले भने जस्तो बाहिर देखिने वातावरण अनुरूप नियुक्ति प्रक्रिया अगाडि नबढ्नु थप रोचक बन्दै गएको छ ।

सत्ता साझेदार अर्थात् एमाले निकटबाट कुलपतिमा आवेदन दिनेमा सूर्य खड्का बिखर्चीसहित आधा दर्जन अनुहार छन् । ती अनुहारमध्ये बिखर्चीले आफूलाई बलिया दाबेदार भने तापनि उनलाई दोहोरिन नदिने चलखेलमा उनै पार्टी निकटका पदाधिकारी सक्रिय देखिन्छन् ।
बिखर्ची भन्छन्– ‘पार्टीबाट जिल्ला, प्रदेश र केन्द्र तहले मेरो नाम सिफारिस गरेको छ हेरौँ के हुन्छ ?’

जसबाट प्रष्ट हुन्छ नियुक्तिमा खिचडी पाकिरहेको छ । अघिल्लो नियुक्तिमा राज्यको ढुकुटी १० प्रतिशत देखाउने काम र ९० प्रतिशत कमिसन निकालेर पापी निवास बनाउन उद्धत हुने जुका र खुर झैँ राष्ट्रिय सम्पत्ति चुस्ने प्रवृत्तिका कार्यकर्ता भने यो कार्यकाल पनि प्रज्ञा–प्रतिष्ठानलाई भातृ संगठनको सम्पर्क कार्यालय जस्तो बनाउन ‘एस म्यानहरू’लाई अगाडि बढाइरहेका देखिन्छन् ।

सञ्जालमा दुई लाइन भाषा नबिगारेर लेख्न नसक्नेहरू प्राज्ञ हुन लायक छन् छैनन् भन्ने विषयमा झण्डै तीन महिना लगाएर मन्त्रालयले अध्ययन गरेको होला भन्ने आँकलन गर्न सकिन्छ ।

कुलपतिका दाबेदार मानिएकाहरूको व्यक्तित्व विश्वविद्यालयका आंशिकदेखि विद्यावारिधि गरेका विशिष्ट श्रेणीका प्राध्यापक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, व्यापारी र अनुभवविहिन पार्टीका कार्यकर्तादेखि सार्क राष्ट्रमै ख्याति कमाएका साहित्य साधकसमेत देखिन्छन् ।

को–को हुन् त प्राज्ञका आवेदक ? (दर्ता सूची अनुसार)
सूर्य खड्का बिखर्ची, चूनबहादुर राना, रामभक्त जोजिजू, बाबुराम बस्ताकोटी, नगेन सिंह, इतु जोजिजू, प्रेमराज अधिकारी, दिवाकार भण्डारी, छविलाल घर्ती मगर, नरेन्द्र रानाभाट, अनुप पाण्डे, विश्वराज रसाइली, केयरसिंह गुरुङ, माधव वियोगी, गुरुदत्त शर्मा दवाडी, शिव सिर्पाली, देवबहादुर पुन, मिलन खत्री, केशवराज तिवारी, पार्वती अधिकारी, डा. विष्णुप्रसाद शर्मा, पवित्रा घिमिरे, शिवप्रसाद त्रिपाठी, शंकरमणि त्रिपाठी, ईश्वरीप्रसाद भुषाल, प्रा.डा. यामनारायण पौडेल क्षत्री, अनुराग अधिकारी, सन्जु महतो, कमल पौडेल अथक, वसन्त अधिकारी, राजन कार्की, नविन गुरुङ, कृष्णप्रसाद पौडेल रहेका छन् ।

यसैगरी प्राज्ञका लागि आवेदन दिने वाङ्मयसेवीमा, टुकादेवी पौडेल आचार्य, शान्तिकुमारी गुरुङ, गायत्री पराजुली, दुर्गाबहादुर शाह, डा.ईश्वरचन्द्र वाग्ले, श्रीजंग गुरुङ, महादेव न्यौपाने, मोहराज शर्मा, होमबहादुर गुरुङ, चोलेन्द्र पौडेल, डा. वीरेन्द्र पुडासैनी, घनश्याम रिजाल, कृष्णकुमार गुरुङ, राजेन्द्र सापकोटा, सुनिता नेपाली, रुद्रबहादुर थापा, राम्जीप्रसाद पौडेल, तीर्थराज सुवेदी, उज्ज्वलबहादुर नर्पाली, बालकासी गुरुङ, हरिमाया श्रेष्ठ, सन्तोष पराजुली, वसन्तप्रसाद चालिसे, डा. मतिप्रसाद ढकाल, युवराज भण्डारी, ऋषिकेश बराल, लक्ष्मी थापा, शंकर विरही गुरुङ, भूपेन्द्र बानियाँ, नारायणबहादुर गुरुङ, डा. विष्णुकुमार सिञ्जाली रहेका छन् ।

यस्तै प्राज्ञका लागि आवेदन दिने वाङ्मयसेवीमा रिकबहादुर गुरुङ, चन्द्रबहादुर राना, केशवराज घिमिरे, शान्ता बास्तोला, कृष्णप्रसाद रेग्मी, सन्दीप नगर्ची, मिनबहादुर वि.क., इन्द्रमान खत्री, छविलाल सुवेदी, सुरज आचार्य, जसमाया गुरुङ, डा. गणेश शर्मा, अर्जुनकुमार गैह्रे, डिलकुमारी पौडेल, डा. देवकी आचार्य, प्रेमबहादुर थापा, शान्ति पोखरेल भुषाल, कृष्णकुमार नेपाली, प्रा.डा. कुशुमाकर न्यौपाने, बुद्धिबहादुर राना, रविन्द्र माकाजू, वर्षाकेशव पराजुली, सुन्दरप्रसाद जोशी, शिवराज देवकोटा रहेका छन् ।

यिनै अनुहारबाट २४ जना प्राज्ञ नियुक्त हुने छन् । बाहिरी जनमानसले प्रतिष्ठानमा राजनीतिक रंग नदेखिएका चरित्रवान्, क्षमतावान् र सुयोग्य प्राज्ञिक व्यक्तिहरू खोजेर सम्मानपूर्वक राखोस् । उनीहरूको सल्लाहमा राज्यले प्राज्ञिक कर्म गरोस् भन्ने अपेक्षामा छन् । तर मन्त्रालय कसरी अगाडि बढ्छ त्यो भने हेर्न बाँकी छ ।

प्रज्ञा–प्रतिष्ठान साच्चैको प्राज्ञिक थलो बनोस् भन्ने अपेक्षा रहेका बेला कस्ता प्रज्ञा नियुक्ति गर्ने ? कस्तो प्रज्ञा–प्रतिष्ठान बनाउने ? भन्ने विषय सम्बद्ध मन्त्रालयको कार्यविधि अनुसार कार्यान्वयन हुनुपर्ने आजको आवश्यकता भएकाले सामाजिक विकास मन्त्रालयले पनि ध्यान पु¥याउनुपर्ने देखिन्छ ।

अपेक्षा गरौँ मन्त्रालयले मागेको विधा विकास योजना पनि राम्ररी अध्ययन गरेको होला । यो पटक गण्डकी प्रज्ञा–प्रतिष्ठान परिपक्व विषय विज्ञहरूको सभा बन्ने छ । सुयोग्य र क्षमतावान् प्राज्ञिक व्यक्तिहरू खोजेर सम्मानपूर्वक राखिने पवित्र साहित्यिक तीर्थस्थल बनोस् गण्डकी प्रज्ञा-प्रतिष्ठान हाम्रो यही शुभेच्छा छ !

Facebook Comments