तीर्थ गुरुङको ‘हिउँको गीत’ उपन्यास मदन पुरस्कार २०८१ को उत्कृष्ट सूचीमा

मदन पुरस्कार गुठीले २०८१ को मदन पुरस्कारका लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । गुठीले मंगलवार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।
२९९ पुस्तकबाट उत्कृष्ट छनोट गरिएका सात पुस्तकमा उपन्यासकार तीर्थ गुरुङको हिउँको गीत पनि परेको छ ।
गुरुङको उपन्याससँगै छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गंगासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’ र सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ उत्कृष्ट सात भित्र परेका हुन् ।
सात कृतिमध्येबाट एकलाई मदन पुरस्कारका लागि छनोट गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरामा रहेर लामो समयदेखि लेखनमा सक्रिय साहित्यकार तीर्थ गुरुङको यो दोस्रो उपन्यास हो । यस अघि उनका ‘पाठशाला’ उपन्यास र ‘आप्पा क्हार्प’ कथाकृति प्रकाशित भइसकेका छन् ।
गुरुङ समुदायको प्रतिनिधित्व गर्दै मूलधारको साहित्य लेखनमा सक्रिय तीर्थ गुरुङको ‘पाठशाला’ उपन्यास पनि मदन पुरस्कारमा मनोनित भएको थियो । ‘आपा क्हार्पा’ गुरुङ जातिको संस्कृतिलाई समेटेर लेखिएको पहिलो आख्यान कृति हो ।
कथा र उपन्यास लेखनमा क्रियाशील गुरुङलाई सफलताको अग्रिम शुभकामना ।