पोखरा र समृद्धि फाइनान्स मर्ज हुने

समृद्धि फाइनान्स लिमिटेड पोखरा फाइनान्स लिमिटेडसँग मर्जर प्रक्रियामा जाने निर्णयमा पुगेको छ ।
दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा मर्जरको सहमति भएको हो। मर्जरपछि पाेखरा फाइनान्सकै नाममा एकीकृत काराेबार हुनेछ ।
केन्द्रीय कार्यालय काठमाडौँमा सारिनेछ। मर्जरपछि बन्ने संयुक्त संस्थाको सञ्चालक समिति अध्यक्ष समृद्धि फाइनान्सबाट ध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहने व्यवस्था मिलाइएको छ।
समृद्धि फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
दुई वित्तीय संस्था मर्जरपछि बन्ने पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार पुग्नेछ । कम्पनीको सञ्चित कोष ९३ करोड ४५ लाख १६ हजार रुपैयाँले ऋणात्मक हुनेछ ।
संयुक्त संस्थाको निक्षेप ९ अर्ब ४९ करोड ६४ लाख १४ हजार रुपैयाँ र ऋणको आकार ७ अर्ब ४६ करोड ८२ लाख ६० हजार पुग्नेछ । समृद्धि फाइनान्सको नेटवर्थ ५३ रुपैयाँ ६३ पैसा रहेको छ भने पोखरा फाइनानसको ४८ रुपैयाँ ७५ पैसा रहेको छ ।
मर्जर पश्चात संस्था अझ सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने दाबी गरिएको छ। नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई मर्जरका लागि अघि बढाएको नीतिगत व्यवस्था अनुसार यो कदमलाई सकारात्मक पहलको रूपमा हेरिएको छ।