MONDAY OCT 13, 2025

नवोदित साहित्यिक वाचनालय कतारको अध्यक्षमा शोभाराम ओली नवोदित कृति अवार्ड–२०८२ प्रेमप्रसाद भट्टराईको 'अरब' गीतिसङ्ग्रहले जित्यो

असफल गौतम/ नवोदित साहित्यिक वाचनालय कतारको सत्रौँ अधिवेशन शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गर्दै सम्पन्न भएको छ ।
समितिको प्रथम उपाध्यक्ष शिव सुवेदी, द्वितीय उपाध्यक्ष पूर्ण कान्छा गुरुङ, पुस्तकालय संयोजक गोविन्द उदासी, महासचिव खिम पुन, सचिव सुजाता डिसी, कोषाध्यक्ष रफि मियाँ, सह-कोषाध्यक्ष शान्ता थपलिया र कार्यसमिति सदस्यमा प्रदीप दाहाल, गणेश बस्याल, रामप्रसाद लुइँटेल र किरण ढकाल निर्वाचित भएका छन् ।

नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दिलकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

अधिवेशन समारोह बीच संस्थाले नवोदित कृति अवार्ड, कृति विमोचन तथा १६० औ वाचन डबलीसमेत सम्पन्न गरेको छ । समारोह बीच रोल्पा परिवर्तन गाउँपालिका २ का शोभाराम ओलीको अटेलिस् जोइको लोकार्पणसमेत गरिएको थियो ।

समारोहका प्रमुख अतिथि एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले विमोचित कृति एक हजारप्रति खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोही समारोहबीच, नवोदितका प्रमुख सल्लाहकार नारायण भण्डारीलाई सम्मान गरिएको थियो । नवोदितका आजीवन सदस्यसमेत रहेका मध्यान्हकर्मी पत्रकार तिलु शर्मा पौडेललाईसमेत सम्मान गरिएको थियो ।

यसैगरी, आठौँ संस्करणको नवोदित कृति अवार्ड–२०८२ गीतिसङ्ग्रह ‘अरब’लाई अर्पण गरिएको छ । जसका लेखक प्रेमप्रसाद भट्टराई रहेका छन् । उनले अवार्डसँगै ५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । अवार्ड विजेता भट्टराईले आफ्नो लेखनमा अवार्डले प्रेरणा थपेको बताए ।

(नवोदित कृति अवार्ड–२०८२ ग्रहण गर्दै प्रेमप्रसाद भट्टराई)

साहित्यकार सीताराम थापाले ओलीको पुस्तकबारे धारणा राख्दै पुस्तक पठनीय रहेको बताए । अर्का साहित्यकार खेमराज सुवेदीले अधुरो जीवन (उपन्यास २०६२), परदेशमा व्यथित मन (गजलसङ्ग्रह २०७४), परदेशी सपना (मुक्तकसङ्ग्रह २०७५) अथाह (बाछिटासङ्ग्रह २०७९) र सुलभ (उपन्यास २०८०) प्रकाशित गरिसकेका ओलीको नयाँ कृति थपिनु सुखद् रहेको धारणा राखे ।

कार्यक्रममा अनेसास कतार च्याप्टरका का.वा.अध्यक्ष दिलीप पराजुलीसहित विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधिको आतिथ्यतासमेत रहेको कार्यक्रममा साहित्यकार श्यामराज रानाभाट र सिताराम थापाले रचनावाचन गरेका थिए ।

वाचनालयका महासचिव शिव सुवेदीले सहजीकरण गरेको कार्यक्रममा सुजाता डिसीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम वाचनालयका अध्यक्ष सन्दीप थपलिया ‘सानु’को सभाध्यक्षता सम्पन्न भएको हो ।

Facebook Comments