MONDAY OCT 13, 2025

प्रविधिकै माध्यमबाट घोषणा गर्यो अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार ११, ६०० डलर राशिका पुरस्कारबाट ११ स्रष्टाका पुस्तक पुरस्कृत हुँदै

असफल गौतम/ वर्तमान समयमा विज्ञान प्रविधिले फड्को मारिरहेको छ । यसैको भरपुर सदुपयोग गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विविध गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
यस्तै विविध शृङ्खलाको अर्को शृङ्खलामा प्रविधिकै साथमा जोडिएर पछिल्लो प्लेटफर्म जुम एपका माध्यमबाटै बृहत् कार्यक्रम आयोजना गरी अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा गरेको छ ।

विगतका वर्षमा जस्तै गरी सन् २०२५ का लागि पाँच सय अमेरिकी डलरदेखि २१ सय अमेरिकी डलर नगदसहित पुरस्कृत हुने ११ विधाका उत्कृष्ट कृति शनिवार बिहान सार्वजनिक गरेको हो ।

अनेसासका शुभेच्छुक, शुभचिन्तक तथा वाङ्मय सेवीको सहयोगबाटै संस्थाले यसरी नै ११ हजार ६ सय अमेरिकी डलर बराबरको पुरस्कारले विविध विधाका स्रष्टालाई प्रोत्साहित गर्दै आएको छ ।

(पुरस्कार संस्थापक, पुरस्कार प्राप्त स्रष्टा र पुरस्कृत पुस्तक विवरण)

११ पुरस्कारमध्ये सर्वाधिक चासोका साथ हेरिने गोपी उप्रेती संस्थापक रहेर अनेसासले सञ्चालन गर्दै आएको दुइ हजार एक सय डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा निरवको उपन्यास सन्त्रासको साठी दिनले जित्न सफल भएको छ ।

यसैगरी, पुरु सुवेदी, भीम रेग्मी र रीता देवी प्रधान संस्थापक रहेको अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार शशीराम कार्कीको पुस्तक रुकुमका लोक कथाले प्राप्त गर्न सफल भएको छ । उक्त पुरस्कारको राशि एक हजार पाँच सय अमेरिकी डलर रहेको छ ।

यसैगरी, एक हजार अमेरिकी डलर राशिका अन्य पुरस्कारतर्फ अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङमय पुरस्कार डा. तुलसी आचार्यको स्वप्न भूमि उपन्यासले प्राप्त गर्न सफल भएको छ । उक्त पुरस्कारका संस्थापक रोहिणी शर्मा रहेका छन् ।

यसैगरी, विष्णुबहादुर शाह संस्थापक रहेको अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार कृशु छेत्रीको कवितासङ्ग्रह पसिनाको क्यानभासले जित्न सफल भएको छ ।
यस्तै, तीर्थ पाण्डे संस्थापक रहेको अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार मोमिलाको प्रश्नहरू त बाँकी नै रहन्छन्ले प्राप्त गरेको छ ।
पदम विश्वकर्मा संस्थापक रहेको अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथासङ्ग्र्रह पाश्र्व ध्वनिले प्राप्त गर्न सफल भएको छ ।
रोहिणी शर्मा संस्थापक रहेको अनेसास सर्वोत्कृष्ट समालोचना, दर्शन तथा संस्कृति पुरस्कार डा. दुर्गाबहादुर घर्तीको सांस्कृतिक अध्ययनले जित्न सफल भएको छ भने नारायण पाण्डे संस्थापक रहेको अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको बोराले प्राप्त गरेको छ ।

यस्तैगरी, पुरु सुवेदी र कल्पना सुवेदी संस्थापक रहेको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको पुस्तक धर्तीको ध्वनि गीतिसङ्ग्रहले प्राप्त गर्न सफल भएको छ । उक्त पुरस्कारको राशि पाँच सय अमेरिकी डलर रहेको छ ।
यस्तै पुरस्कार संस्थापक शिव लामिछाने रहेको अनेसास सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार विमला ढुङ्गाना निरौलाको यात्रामा देश कृतिले, प्राप्त गर्न सफल भएको छ ।

यस्तै, गीता खत्री र रश्मी भट्ट संस्थापक रहेको अनेसास सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार जगन्नाथ पौडेलको कवितासङ्ग्रह बग्दैबग्दैले प्राप्त गर्न सफल भएको छ । यी दुवै पुरस्कारको राशि पाँच सय अमेरिकी डलर रहेका छन् ।

अध्यक्षको आसनबाट बोल्दै केन्द्रीय अध्यक्ष अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसास र अनेसासमा आवद्ध वाङ्मयसेवी अहोरात्र नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील रहँदै आएको जानकारी गराए ।

Facebook Comments