MONDAY OCT 13, 2025

लामाचौर तीज महोत्सवको तयारी शुरु, २२ उपसमिति गठन

नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ उपसमिति गठन गरिएको छ ।

महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।
नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई संस्कृति संरक्षणको पर्व बनाउन समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा महोत्सव सञ्चालन गर्दै आएको छ ।

गठित उपसमितिको अर्थ व्यवस्थापनमा कमलबहादुर थापा, समन्वय विशेषमा मिलन केसी, खेल मैदान विकासमा दिलबहादुर थापा, तीज महोत्सव संरक्षण कोषमा नविन भण्डारी, जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रवीमान सिंह भण्डारी, शिक्षा तथा स्रष्ट्रा सम्मानमा थिरबहादुर थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा खुशीमान गुरुङ, कार्यालय व्यवस्थापनमा राजुबहादुर भण्डारी, खेलकुद व्यवस्थापनमा शंकर केसी, मञ्च, प्याराफिट तथा स्टल व्यवस्थापनमा प्रेम गुरुङ, टिकट व्यवस्थापनमा अमिर गुरुङ, बजार व्यवस्थापनमा बलबहादुर श्रेष्ठ, युवा परिचालनमा कुशल राना, महिला समन्वयमा शारदा पौडेल, यातायात तथा पार्किङमा अमृत गुरूङ, सुरक्षा व्यवस्थापनमा हरिबहादुर बरूवाल, स्वागत सत्कारमा सञ्जयकुमार अधिकारी, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा दिलबहादुर थापा, सूचना तथा प्रचार प्रसारमा विष्णुप्रसाद गौतम, डिजिटल बोर्ड तथा व्यानरमा प्रकाश थापा, सरसफाइमा रामजी सिके र कौशल्या ज्ञान विज्ञान पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापनमा सुशील केसीलाई संयोजक तोकिएको समाजले जनाएको छ ।

गठित उपसमितिले महोत्सवको आन्तरिक तयारी शुरु गरिसकेको पाइएको छ । फलस्वरुप आइतबार सञ्चार तथा प्रचारप्रसार उपसमितिले छलफल गरिसकेको छ । उपसमितिले महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचारप्रसारमा कुनै कमी नगर्ने र सञ्चार माध्यमसँग समन्वय गरी अगाडि बढ्ने निर्णय गरेको संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए ।

तीज महोत्सवमा तीज गीतसहित खुला भलिबल प्रतियोगिता, अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, स्रष्टा सम्मान, औद्योगिक मेला तथा विभिन्न स्टल र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुतिलाई यस वर्ष पनि निरन्तरता दिइने समाजले जनाएको छ । समाजले नेपाली नारीको महान् पर्व तीजको अवसरमा यही भाद्र ८ गतेदेखि १० गतेसम्म ३ दिन महोत्सवको तयारी गरेको छ ।

Facebook Comments