MONDAY OCT 13, 2025

‘धर्मराजलाई बिर्से जस्तो भयो’ पोखरा र काठमाडौँमा जनकवि केशरी धर्मराज थापाको १०१ औं जन्मजयन्ती

असफल गौतम/ जनकवि केशरी धर्मराज थापाको गृह जिल्लाको बाटुलेचौरमा उनका विविध आयाममाथि चर्चा परिचर्चा गरिएको छ ।
थापाको १०१ औं जन्मजयन्तीमा बिहीवार उनै थापा संस्थापक अध्यक्ष रहेर स्थापना भएको शुक्ला साहित्य प्रतिष्ठानले उक्त विशेष समारोहको आयोजना गरेको हो ।

समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बाटुलेचौर साहित्य र लोकसंगीतको उर्वर भूमि भएको स्मरण गरिन् । धर्मराज थापाको व्यक्तित्वबारे प्रकाश पार्दै उनले स्वदेश र विदेशलेसमेत चिनेको विराट व्यक्तित्व जन्माउने यही माटोमा उनको योगदानको उपयुक्त सम्मान हुन र प्रचारप्रसार हुन नसकेको हो कि ? भनेर प्रश्नसमेत गरिन् ।

उनले थपिन्, ‘हामीले रेडियोमा गीत सुन्दा–सुन्दा सकिएका व्याट्री टिनमाथि राखेर तयाएर फेरि झ्यारझ्यार पार्दै थापाका गीत सुनेको सम्झना आजको कार्यक्रमले गराएको छ ।’ प्रमुख अतिथि भुजेलले सदा राष्ट्र र राष्ट्रियता जगाउने गीत गाउने थापाको योगदानलाई जीवन्त राख्न प्रदेश सरकारकातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जनकवि केशरी धर्मराज थापा आफ्ना बुबाका मित्र भएको स्मरण गर्दै तत्कालीन समयको लाहुरे संस्कृतिलाई साहित्य र संगीतका माध्यमबाट एकाकार गर्ने सामथ्र्य भएका राष्ट्रिय गौरवका लोकसाधकका रूपमा चिनाए ।

पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले यस क्षेत्रका साहित्यक व्यक्तित्वको उचित सम्मान र योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानले कार्ययोजना बनाएर अगुवाई गर्नुपर्नेमा जोड दिए ।
उनले थापाको शालिक निर्माणका लागि महेन्द्र गुफा परिसर उपयुक्त देखिएकाले त्यसको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउने विषयमा पोखरा महानगर पनि सकारात्मक रहेको बताए । तिमिल्सिनाले, महेन्द्र गुफामा रहेको गन्धर्व सङ्ग्रहालय र बाटुलेचौरको गन्धर्व संस्कृतिको संरक्षणसहित साहित्यिक पर्यटकको केन्द्रका रूपमासमेत बाटुलेचौरलाई अगाडि बढाउन सकिनेमा जोड दिए ।

स्मृति कार्यक्रमका मुख्य वक्ता असफल गौतमले ‘नाम जस्तै कामले बाँचेका साधक’ शीर्षकमा अवधारणा राख्दै विभिन्न व्यवस्थाका भुक्तभोगी थापालाई नाम जस्तै काम भएका स्रष्टा, साधक र अन्वेषकका रूपमा चिनाए ।
गौतमले थापालाई गन्धर्व संस्कृतिका राजदूतका रूपमा चित्रण गर्दै उनी लोकसंस्कृतिका शिखर पुरुष मात्र नभएर एक जुग लेखेर जुगौजुग बाँच्ने राष्ट्र र राष्ट्रियताका पुजारीसमेत रहेको स्मरण गरे । असफलले अग्रजको सम्मानबाटै आफू सम्मानित भइने भएकाले कविको जन्मघरलाई कविकुञ्जको रूपमा विकास गरी संरक्षण र प्रवद्र्धन गर्नुपर्ने वर्तमानको माग रहेकाले सबै जुर्मुराउनुपर्नेमा जोड दिए ।

प्रतिविम्ब वाङ्मय प्रतिष्ठानका अध्यक्ष शिवहरी आचार्यले थापालाई राष्ट्रियताको प्रतीकका रूपमा चित्रण गर्दै आफ्नो संस्थाले उच्च सम्मानका साथ गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराए ।

अन्नपूर्ण मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष यमकाजी गुरुङले बाटुलेचौरको सारङ्गीलाई विश्वमा चिनाउने धर्मराज थापा भएकाले उनको योगदानलाई जीवन्त राख्न सबै जाग्नुपर्नेमा जोड दिए ।

विन्ध्येश्वरी मा.वि.का प्रधानाध्यापक श्रीराम आचार्यले धर्मराज थापालाई नेपाली साहित्यका नक्षत्रका रूपमा चित्रण गर्दै उनका आयाम बारेमा जति चर्चा गरे पनि कम हुने बताए ।

पूर्व जनप्रतिनिधि कोमलप्रसाद बाँस्तोलाले प्रतिष्ठानले नेपाली साहित्यको विकासमा उल्लेख्य योगदान दिएका अग्रजको स्मरणमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको देखेर खुसी लागेको धारणा राखे ।

प्रतिष्ठानका सल्लाहकार शिव त्रिपाठीले गीतकार हराउने रोगको मारमा थापासमेत परेकोमा चिन्ता व्यक्त गर्दै तत्कालीन धुलौटे माटोमा गन्धर्व समुदायले धर्मराज थापाका गीतका माध्यमबाट आफ्नो संस्कृति जोगाउँदाको स्मरण आज पनि मानसपटलमा जीवन्त रहेको बताए ।

कार्यक्रम संयोजक हरि बहादुर थापाले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गरेका प्रतिभाको योगदानको कदर जुन रूपमा हुनुपर्ने थियो त्यो हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका मानार्थ सदस्य नेत्रबहादुर बानियाँ, वरिष्ठ उपाध्यक्ष गीता भण्डारी, सचिव रामप्रसाद पौडेलले बाटुलेचौरको माटोमा जन्मे हुर्केका जनकविलाई स्मरण गरेर मात्र नपुग्ने बताउँदै शालिक र घरलाई कवि कुञ्जका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

भजन उपसमितिका डोबबहादुर के.सी.लगायतले जनकवि केशरी धर्मराजलाई कालजयी स्रष्टाका रूपमा प्रस्तुत गरेको कार्यक्रममा थापाका विभिन्न गीत तथा स्मृतिमा लेखिएका भजन र कवितासमेत प्रस्तुत गरिएका थिए ।

प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै गन्धर्व समुदाय र सारङ्गीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका संस्थापक अध्यक्षको जन्मजयन्तीमा पहिलो पटक कार्यक्रम आयोजना गरिएकोमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैगरी, जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले काठमाडौमा विविध कार्यक्रमका साथ १०१ औं जन्मजयन्ती समारोह मनाएको छ ।प्रतिष्ठानले ’डाँफेचरी’ पत्रिकाको पछिल्लो अङ्क लोकार्पण तथा सम्झनामा थर्मराज थापा सांगीतिक कार्यक्रमसहित १०१ औं जन्मजयन्ती मनाएको प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी दिए ।

Facebook Comments