पत्रकार रूद्र शिरीष मगर पुरस्कृत

नेपाल मगर पत्रकार संघ जिल्ला समन्वय समिति कास्की र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको आयोजनामा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२ शनिबार एक विशेष समारोहबीच सम्पन्न भयो।
समारोहमा पत्रकार रुद्र शिरीष मगरलाई दुई दशकभन्दा लामो योगदानको कदरस्वरूप रु. १५,००० नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा खेलकुद मन्त्री बिन्दु कुमार थापा रहेका थिए। गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा विधेयक बनाएर पारित गर्न पहल गरेको योगदानस्वरूप थापालाई पनि विशेष सम्मान गरिएको थियो।
प्रमुख अतिथि मन्त्री बिन्दु कुमार थापाले भने, “गण्डकी प्रदेश भाषा र संस्कृतिको दृष्टिले धनी छ। यहाँ मगर समुदायको जनसंख्या १९.७९ प्रतिशत छ। भाषा हाम्रो सम्पत्ति हो— यसलाई जोगाउनु हाम्रो कर्तव्य हो। विधेयक त पारित भइसकेको छ, तर कार्यान्वयन चुनौतिपूर्ण छ। समुदायको सहभागिता अनिवार्य छ।”
समारोहको उद्घाटन पारम्परिक कौराहा स्वागत गीत तथा मगर नृत्यबाट गरिएको थियो।
छनौट समितिका संयोजक एम. बी. आस्थाले रुद्र शिरीष मगरको २०६३ सालदेखि पत्रकारितामा निरन्तर सक्रियता र फेवा टेलिभिजनमा समाचार प्रमुखको रूपमा निर्वाह गरेको भूमिकाबारे जानकारी दिए ।
नेपाल मगर पत्रकार संघका अध्यक्ष राम थापा मगरले रुद्र शिरीष मगरले मगर भाषा, संस्कृति तथा कौराहाको संरक्षणमा पुर्याएको योगदानले अन्य पत्रकारहरूमा पनि प्रेरणा थप्ने विश्वास व्यक्त गरे।
सम्मान ग्रहण गर्दै रुद्र शिरीष मगरले आफ्नो मन्तव्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिप्रति आभार प्रकट गर्दै भने, “लाहुरे बन्ने सपना बोकेको मान्छे पत्रकारितामा लागेँ— यो हुटहुटी मात्र होइन, समुदायको आवश्यकता थियो। आजको सम्मानले जिम्मेवारी अझ बढेको छ।”
मञ्चबाटै श्रीमतीप्रति विशेष धन्यवाद दिँदै भने, “जीवनको हरेक मोडमा साथ दिँदै आउनुभएको छ। आजको यात्रामा उहाँको साथ र विश्वास मेरो लागि अमूल्य रह्यो। उहाँप्रति मनदेखि आभार व्यक्त गर्न चाहन्छु।”
कार्यक्रममा मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरले समापन मन्तव्य दिनुका साथै भविष्यमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।
समारोहमा माधव पनेरु, जमुना बर्सा, हर्क आले, केशव शरण लामिछानेलगायत विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गर्दै पुरस्कारको महत्त्व
र भाषिक अधिकारको विषयमा प्रकाश पारेका थिए।
समारोहले पत्रकारिता, भाषिक पहिचान र मौलिक संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।