बुद्धपार्क र तारेभिरको प्रचारप्रसारमा हाईकर्स क्लब

पर्यटकीय राजधानी पोखरा आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि क्रियाशील हाईकर्स क्लब नेपाल पछिल्लो समय पोखरा–२२ मा रहेको बुद्धपार्क र तारेभिर पुगेको छ ।
स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नाराका साथ विगत छ वर्षदेखि पोखरा आसपासका पर्यटकीय स्थलको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाईकर्स क्लब नेपालले असारको अन्तिम शनिवार ६० औं श्रृङ्खलाका रूपमा तारेभिर र बुद्धपार्क पुगेको हो ।
हरेक महिनाको अन्तिम शनिवार सञ्चालन हुँदै आएको हाइकिङको ६० औँ भाग पोखरा महानगरपालिका वडा नं. २२ को कालाबाङ घरेडीबाट पैदल यात्रा सुरु भएर, भुम्दी, तारेभिर, चिसापानी, भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर समापन भएको हो ।
पोखरा २२ सँग जोडिएको बुद्ध पार्क पर्यटकीय गन्तव्यको थप स्थ लबनेको छ । जहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल थप बढाउने, स्थानीय उत्पादनसहित रोजगारीका अवसर सिर्जनासहित पार्कको प्रवद्र्धनमा लागिएको क्लबका अध्यक्ष कृष्ण रानाभाट बताउँछन् ।
कास्की आसपासमा विभिन्न पेशा व्यवसायमा संलग्न २५ जना व्यवसायी, समाजसेवीसहितको समूहलाई तारेभीरमा असीम खाजा घर एण्ड किराना पसलका सञ्चालन गर्ने राजु रानाले स्वागत गरेका थिए । उनले विभिन्न पृष्ठभूमिका आन्तरिक पर्यटकलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेकोसमेत बताए ।
हाइकिङमा पहिलो पटक सहभागी भएका छोरेपाटन मा.वि.भू.पूविद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले हाईकिङ कार्यक्रम एक भए पनि यसका प्राप्ति अनेक भएको बताए ।
जिल्ला प्रशासन कार्यलय कास्कीमा दर्ता भएको हाइकर्स क्लब नेपालले सञ्चालन गरेको यस कार्यक्रमले व्यक्तिलाई स्वस्थ र स्फुर्त त राख्छ नै । त्यसका अलवा आन्तरिक पर्यटनको प्रवद्र्धन, स्थानीय उत्पादनको खपत र रोजगारीसमेत सिर्जना गर्ने भएकाले पर्यटकीय राजधानी पोखराको विकासमा सरोकारवालाले सहकार्य गरी अगाडि बढ्नु आजको अवाश्यकता देखिन्छ ।