MONDAY OCT 13, 2025

गोधूलि कला साहित्य प्रतिष्ठानकी सारथि बन्दै पशुपति गुरुङ

नेपाली वाङ्मयको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहँदै आएको गोधूलि कला साहित्य प्रतिष्ठानको स्थायीयत्वका लागि साहित्यसेवी तथा समाजसेवी पशुपति गुरुङ असल सारथि आएकी छन् ।

प्रतिष्ठानका विभिन्न कार्यक्रमका सहयोग पु¥याउँदै आएकी गुरुङले पछिल्लो समय प्रतिष्ठानका लागि पाँच लाख, पाँच हजार, पाँच सय रुपैयाँँ सहयोग गरेकी छन् ।

संस्कार समाज नेपालकी अध्यक्षसमेत रहेकी गुरुङले आफ्नो दाम्पत्य जीवनको २५ औं वैवाहिक वर्षगाठलाई वाङ्मय सेवाका क्षेत्रमा समर्पण गरेर मनाएकी हुन् ।

असल संस्कार समृद्धिको आधार उद्घोषका साथ आफ्नो देश आफैँ बनाउनुपर्छ भनेर अगाडि बढ्ने पशुपति गुरुङ साहित्यकारसमेत हुन् । साहित्यकार गुरुङ समृद्ध राष्ट्र निर्माणको महाअभियान लिएर अगाडि बढेकी जनचेतनामूलक सरसफाइ कार्यक्रमकी संयोजकसमेत रहेकी छन् ।

प्रतिष्ठानद्वारा आयोजित गोधूलि भानुकाव्योत्सव–२०८२ समारोह बीच गुरुङले उक्त सहयोग हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवसले साहित्यिक क्षेत्रको श्रीवृद्धिमा पशुपति गुरुङबाट नाम जस्तै काम भएको धारणा राख्दै प्रशंसा गरे ।

समाजसेवी गुरुङले नेपाली भाषा, साहित्य, संस्कृति र समाजसेवाका क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको धारणा व्यक्त गरिन् ।

साहित्यप्रेमी बुद्धिप्रसाद गुरुङले नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि योगदान पुगोस् भन्ने उद्देश्यले विवाह उत्सवलाई खर्चिलो भन्दा पनि सेवामुखी बनाउनका लागि सहयोग गरेको बताए ।

कवि विश्वविमोहन श्रेष्ठले गुरुङको समाजसेवा र साहित्यसेवाप्रतिको योगदानको स्मरण गर्दै स्तुत्य कार्यका लागि आभार व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले गुरुङले विभिन्न समयका गोधूलिका कार्यक्रमलाई सहयोग गर्दै आइरहे तापनि यो सहयोगले हर्षविभोर भएको बताउँदै रकमको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समय विवाह उत्सवहरू महङ्गा र भड्किला बन्दै गएको अवस्थामा हामीले पनि एक पटक पशुपति गुरुङको सत् कर्मको मनन गर्ने कि ? यो प्रश्न उनले सबैलाई उब्जाइदिएकी छन् ।

पशुपतिको यो स्तुत्य कार्यका लागि हार्दिक बधाई !

Facebook Comments