MONDAY OCT 13, 2025

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा, भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले (आज) मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको जानकारी गराएका थिए ।

उनले विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको र नखाएको विषको शिकार भएको दाबी गरेका गर्दै पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाठाका साथ पूरा गर्ने प्रतिबद्धतासहित जनताको घर दैलोमा आउने प्रणसमेत गरेका छन् ।

केही दिनअघि मन्त्री गुप्ताले घुस लिएको अडियो सार्वजनिक भएसँगै विपक्षी दलहरूले राजीनामासहितको कारवाही माग गरेका थिए ।

अडियो रेकर्डमा कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीदेखि कास्कीकै जग्गाको सन्दर्भ जोडिएको छ । उक्त अडियो सम्वाद नौलो खबरले प्रकाशित गरिसकेको छ ।

गतवर्ष असार ३१ गते मन्त्री नियुक्त हुने अवसर पाएका गुप्ताले एक वर्ष पुगेकै दिन राजीनामा घोषणा गरेका हुन् ।

यसैबीच सरकारले (आज) मङ्गलवार साँझ राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त गरेको छ । उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् । (हेर्नुहोस् विज्ञप्ति)

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति निकालेर न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको जानकारी दिएकी छन् ।

Facebook Comments