MONDAY OCT 13, 2025

पोखरामा बोलबमको तयारी पूरा असार ३० गते पनि गाईघाट बगरदेखि बिहान ७ बजे बोलबम पदयात्रा

विगत २४ वर्षदेखि प्रत्येक वर्ष साउन महिनाका हरेक सोमवार पोखरामा सञ्चालन हुँदै आएको बोलबमको तयारी पूरा भएको जनाइएको छ ।
पोखरा–१ बगरको शुक्लागण्डकी गाईघाटमा १०८ धारामा स्नान गरी सेती गंगाको जल लिएर भजनकीर्तन र झाँकीसहित झण्डै आठ किलोमिटरको पैदलयात्रा दूरी पार गरेर समापन हुने कार्यक्रमलाई थप व्यवस्थित गर्न लागिएको बोलबम संयोजक शंकर खरालले जानकारी दिए ।
उनले थपे, ‘१०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रा पूरा गरी केदारेश्वरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य हो ।’

औपचारिक रूपमा श्रावणको पहिलो सोमवार ५ गते भए पनि चन्द्रमासको हिसाबले असार २६ गते गुरुपूर्णिमादेखि नै श्रावण लागेकाले असार ३० गते पनि गाईघाट बगरदेखि बिहान ७ बजे बोलबम पदयात्रा गरिएको बोलबम धाम बैदामले जनाएको छ ।

साउनमा भगवान् शिवको आराधना गर्दै ज्योतिर्लिङ्गमा गंगाजल र बेलपत्रले पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले बोलबमको छुट्टै महिमा रहेको केदारेश्वर वैदिक गुरुकुल आश्रमका पीठाधीश डा. लेखनाथ आचार्य बताउँछन् । उनले मन्दिरमा शिव लिङ्गमा पानी, दूध चढाउनु भन्दा गाईघाटबाट जल लिएर आएर केदारश्वरमा जलार्पण गर्नुको महत्व विशेष रहेको बताए ।
बोलबमले पोखरासहित गण्डकी प्रदेशकै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिएको समितिकी वरिष्ठ उपाध्यक्ष मीना भट्टराईको दाबी रहेको छ ।
सेती नदीको गाईघाटमा जल लिन जाने भक्तजनलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने सचिव ओमनाथ अधिकारीले जानकारी दिए ।
केदारेश्वमा आउने भक्तजनको सुविधाका लागि विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न संघसंस्थाले पानी, मोही र प्रसादकोसमेत व्यवस्था गर्ने बोलबम संयोजक खराल बताउँछन् ।
यसैगरी, साउन ३ गते शनिवार बिहान ८ बजे बोलबमको प्रचारप्रसारका लागि गाईघाटदेखि केदारेश्वरसम्म मोटरसाइकल र्यालीको आयोजना गरिने बोलबम धाम बैदामले जनाएको छ ।

यस वर्षको साउनमा चारवटा सोमवार परेकाले सबै सोमवारको बोलबममा बढी भन्दा बढी भक्तजनलाई पैदलयात्रामा सहभागी भइदिन आयोजकले आग्रह गरेका छन् ।

Facebook Comments