संस्थापक अध्यक्षको स्मरण गर्दै शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर

शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले संस्थाका संस्थापक अध्यक्ष जनकवि केशरी धर्मराज थापाको एक सय एक औं जन्मजयन्ती विशेष समारोहको आयोजना गरेर स्मरण गर्ने भएको छ ।
संस्थाले जनकवि केशरी धर्मराज थापाको विशेष स्मृति कार्यक्रमको व्यानरमा थापाले शब्द, साधना र संगीतका क्षेत्रमा दिएको योगदानको स्मरण गरेर जन्मजयन्ती मनाउन लागेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।
लोकसाहित्य र गीतसंगीतका शिखर प्रतिभा जनकवि केशरी धर्मराज थापाको सारा जीवन लोकसंस्कृतिको अध्ययन र अनुसन्धानमा बितेको थियो ।
उनको हरियो डाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ्ग शेर्पाले चढ्यो हिमाल चुचुरोलगायतका सर्वाधिक लोकप्रिय गीत रहेका छन् । २०१३ मा राजा महेन्द्रबाट जनकवि केशरी उपाधि प्राप्त थापा २०२५ सालको मङ्गली कुसुम काव्यका लागि मदन पुरस्कार विजेतासमेत हुन् ।
जगदम्बाश्री पुरस्कार, शुभ राज्याभिषेक पदक, लोकसाहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदकलगायतका विभिन्न सम्मान पुरस्कारबाट विभूषित थापाको स्मृतिमा उनको परिवारद्वारा प्रतिष्ठानसमेत स्थापना भएको छ ।
वि.सं. २०७३ मा स्थापित जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले विभिन्न समयमा विभिन्न अनुष्ठान गरी उनको योगदानलाई जीवन्त तुल्याउन क्रियाशील रहँदै आएको पाइन्छ ।