MONDAY OCT 13, 2025

लघुकथाकार लक्ष्मीको ‘अन्त्य’माथि विमर्श

२१२ औँ भानुजयन्तीका सन्दर्भमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाद्वारा लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति अन्त्यमाथिको विमर्श शनिवार सम्पन्न भएको छ ।

अभियानको ३४ औँ पाइलाका रूपमा उक्त विमर्शसहित एकल लघुकथा वाचन सम्पन्न गरिएको हो ।

कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिको विमर्शसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाको लेखनमाथिको विमर्शसमेत  गरिएको थियो ।

जसमा वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठले आफ्ना धारणा राखेका थिए भने लघुकथाकार लक्ष्मी रेग्मी खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो ।
विमर्शका वक्ताले नवोदित भएर पनि खनालको लघुकथा लेखन सशक्त भएको दाबी गरे ।

स्रष्टा लक्ष्मी रेग्मी खनालले अभियानका यस्ता कार्यक्रमले सिर्जना यात्रामा लागेका स्रष्टालाई प्रोत्साहन र हौसला मिल्ने भएकाले आयोजकप्रति आभार व्यक्त गरिन् ।

पुतलीबजार-१३ स्याङ्जामा जन्मिएकी लघुकथाकार लक्ष्मी रेमी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गरेकी लक्ष्मीको अन्त्य लघुकथा विधातर्फको पहिलो कृति हो । उनी विभिन्न लघुकथा विधा केन्द्रित प्रतियोगितामा पुरस्कृत भइसकेकी प्रतिभासमेत हुन् ।

Facebook Comments