र्यान्डम रिडर्स सोसाइटीमा हिउँको गीतको चर्चा

र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ ।
कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले कृतिको चर्चा गर्दै हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान सँगसँगै बगिरहेको धारणा राखे । उनले हिउँको गीत उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रूपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको बताए ।
उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए ।
गुरुङ आफ्नै पिताको मिर्गौला प्रत्यारोपणपछि प्राप्त पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसङ्ग सुनाए । गुरुङले यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथासङ्ग्रह) बजारमा ल्याइसकेका छन् ।
कार्यक्रममा कौशलचन्द्र जिसी, कुमार तामाङ, डा. लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा. हुमबहादुर गुरुङलगायतले टिप्पणी गरेका थिए ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालप्रकाश अधिकारीको सञ्चालन रहेको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।