FRIDAY OCT 04, 2024

कैलाश गुफा र बहाकोट कालिका प्रबर्द्धनमा हाइकर्स क्लब

स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ कार्यक्रम यस पटक दोस्रो हप्ता मै हुने भएको छ ।

बिगत ५ बर्ष देखि कास्की, तनहुँ र स्याङ्जाका ऐतिहासिक स्थल, धार्मिक, पर्यटकीय क्षेत्र तथा सामुदायिक होम स्टेहरुको प्रबर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले शनिबार स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ८ मा अवस्थित कैलाश गुफा र बहाकोट कालिका मन्दिरको हाइकिङका माध्यमबाट प्रबर्द्धन गर्ने भएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।

पर्यटनको राजधानी पोखराबाट नजिकै रहेर पनि प्रचारप्रसारको कमीका कारण प्रबर्द्धन हुन नसकेको उक्त स्थानलाई हाइकिङबाट प्रचारप्रसार गर्न मद्दत पुग्ने हाइकिङ कार्यक्रमका संयोजक तथा स्थानीय पितम बहादुर सेनले बताए । सिद्धार्थ राजमार्गबाट १ घण्टाको दुरिमा रहेको प्राचीन कैलाश गुफाको प्रबर्द्धन गर्न सके पर्यटकीय गन्तव्य बन्ने उनको भनाइ छ ।

पुतलीबजार नगरपालिका वडा नं ८ मा अबस्थित गुफामा विभिन्न कलाकृतिहरुको आकार देखिने गुफालाई स्थानीय निकायले पनि हरेक बर्ष रकम बिनियोजन गर्दै आएको वडा अध्यक्ष इम बहादुर सेनले बताए ।

गुफा नजीकै पहाडको चुचुरोमा रहेको प्रसिद्ध बहाकोट कालिका मन्दिर पनि हालै पुनः निर्माण गरिएको छ । बडा दशै, चैत दशैमा दर्शन गर्न आउने भक्तजनको भिड लाग्ने गरेको छ भने हाल अन्य समयमा पनि पर्यटकहरू आउने गरेको बहाकोट कालिका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष कुल बहादुर रानाले बताए ।

असार दोस्रो शनिबार ८ गते हुने हाइकिङमा ३५ भन्दा बढी सहभागी हुने आयोजकले बताए ।

Facebook Comments