SATURDAY NOV 02, 2024

पोखराका संरक्षणकर्मी आचार्यलाई लाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार

पोखरा २० बैशाख । पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएका छन् ।

बेलायती राजकुमारी एनले लन्डनमा बुधबार आयोजित एक कार्यक्रमका बिच हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट संरक्षणकर्मी आचार्यलाई सम्मान गरेकी हुन् । पुरस्कारको राशी ५० हजार पाउण्ड छ ।

विश्वभरका ६ जनालाई प्रदान गरिएको सो पुरस्कार आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप प्रदान गरिएको हो ।

३० बर्षमा ८० भन्दा बढी मुलुकका २०० जना संरक्षणकर्मीहरुले सो पुरस्कार प्राप्त गरेका छन्। यो बर्ष आचार्य सहित ब्राजिल, भुटान, पपुवा न्यु गिनिया, क्यामरुन र गुयानाका संरक्षणकर्मीहरु पनि सो पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा प्रस्ताव गरेको लाटोकोसेरोको संरक्षणको काममा पुरस्कार रकम खर्च गरिने उनले जानकारी दिए ।

नेपाल सरकारले बनाएको १० बर्से लाटोकोसेरो संरक्षण कार्य योजनाले तोकेको कार्यहरूमा सो रकम खर्च हुनेछ । सो कार्यक्रम अन्तर्गत गुलेली नियन्त्रण, बुढा रुखको संरक्षण, कृत्रिम गुडको वितरण तथा लाटोकोसेरोकोअबैध चोरी सिकारी नियन्त्रण आदि रहेको छ । यो कामहरु गर्नको लागि उनको समुहमा सोम जिसी र सुमन सापकोटा समेत रहेका छन् ।

पुरस्कार पाएपछि जिवनकै खुशीको दिन रहेको उनले सुनाए । ‘ यो पुरस्कार पाउनु मेरो जीवनको सबै भन्दा खुशीको दिन हो । पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन्’ उनले भने, ‘बिना स्वार्थ लाटोकोसेरो संरक्षण अभियानमा जोडिएका सबैलाई मुरी मुरी धन्यवाद ।’

हाल प्रकृतिका साथीहरु संस्थाको कार्यकारी निर्देशक समेत रहेका आचार्यले बिगद ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन र संरक्षणमा विशेष योगदान गरेका छन् । १६ वर्ष देखि उनी लाटोकोसेरोको काममा बढी सक्रिय छन् । उनको लाटोकोसेरो प्रतिको माया र लगावको कारणले नेपालमा उनले ‘उल्लु सर’ को उपनाम चिनिन्छन् ।

गएको १६ वर्षमा उनी प्रत्यक्ष रूपमा ६० हजार भन्दा मानिसहरू सम्म पुगेर लाटोकोसेरोको महत्वको बारेमा जानकारी गराएका छन् । उनका लाटोकोसेरोका सम्बन्धी ५ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालबाट विधुतीय रुपमा प्रकाशित हुने लाटोकोसेरो सम्बन्धि पत्रिका हाप्सिलोका सम्पादक समेत हुन् । यसका साथै उनका १ सय २५ भन्दा बढी प्रकृतिसम्बन्धि फिचर लेखहरु प्रकाशित छन् ।

नेपालका ६८ जिल्ला घुमेका उनले हजारौँ बिधार्थीहरुलाई लाटोकोसेरोको संरक्षण गर्न प्रेरित गरेका छन् । नेपालको सबै भन्दा ठुलो संरक्षणको अभियान नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव पनि उनकै नेतृत्वमा ११ वर्ष देखि सञ्चालन हुँदै आएको छ । लाटोकोसेरो बाहेक उनले ब्वाँसो, जंगली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदिमा समेत काम गरेका छन् ।

नवीन काम गर्न रुची राख्ने आचार्यले अन्य अनुसन्धानकर्मी नपुगेको क्षेत्र तथा प्रजातिको अनुसन्धान र संरक्षणको लागि नेतृत्व गरि रहेका छन् । पश्चिममा हुम्लादेखि पूर्वमा सङ्खुवासभा सम्मका क्षेत्रमा काम गरेका छन् ।

Facebook Comments