SUNDAY APR 14, 2024

खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक भिआर–४६ को २५ हजार सहयोग

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक संस्था भिआर–४६ ले नगद रु २५ हजार सहयोग गरेको छ ।

भिआर–४६ का प्रवन्ध निर्देशक माइकल थापाले कल्याणकारी कोषमा नगद रु २५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि सो कोषमा ५ लाख प्रदान गरेको छ ।

भिआर–४६ सो कोषमा रकम दाखिला गर्ने पहिलो संस्था समेत भएको छ । खेलाडी कल्याणकारी कोषमा नगद रु २५ हजार जम्मा गरेको बताउँदै प्रवन्घ निर्देशक थापाले खेलाडीहरुको हितका लागि सहयोग गर्न पाएकोमा आफू हर्षित भएको बताए । उनले भने–“यो कोषको विषयमा जानकारी पाउँदा मलाई निकै खुसी लाग्यो । आफू पनि एक खेलाडी र प्रशिक्षक भएको नाताले यसमा रकम जम्मा गर्न पाँए नै त्यसमा पनि मेरो संस्था पहिलो भयो ।”

भिआर–४६ ले खेलाडी कल्याणकारी कोषमा नगद सहयोग गरेकोमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आभार व्यक्त गरेका छन् । “यो नितान्त खेलाडी, प्रशिक्षक, रेफ्रि र खेल प्राविधिकहरुको हितका लागि गरिएको कोषको व्यवस्था हो”, उनले भने–“भिआर–४६ ले यसमा सहयोग गरेको छ । म आभार व्यक्त गर्दछु संगै यस्तै अन्य संघ संस्थाहरुलाई समेत कोषमा सहयोगका लागि आह्वान गर्दछु ।”

सो कोषको सञ्चालनका लागि बैंक खाता समेत खोली रकम संकलनको सुरुवात गरिसकेको सदस्य सचिव श्रीधर शर्माले बताए । सबै जिल्लामा सूचिकृत भएका रेफ्रि, प्राविधिक र खेल प्राविधिकहरुको लगत संकलन कार्य सम्पन्न भइसकेको जनाउँदै उनले जिल्लाहरुबाट संकलित रकम समेत सोही खातामा जम्मा हुने बताए ।

जिल्लामा सूचिकृत भएका रेफ्रि, प्राविधिक र खेल प्राविधिकहरुको वार्षिक जोखिम विमा र खेलाडीहरुको हकमा प्रतियोगिता अवधिभर कम्तिमा एक महिनाको विमा हुने गरी परिषदले राष्ट्रिय विमा संस्थान संग छलफल अघि बढाएको सदस्य सचिव शर्माले जनाए । उनले भने–“अहिले सबै जिल्लाको लगत संकलन कार्य भइरहेको छ । त्यो कार्य सकिने वित्तिकै हामी विमा गर्ने छौं”, उनले भने ।

Facebook Comments