Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष – Naulo Khabar
THURSDAY MAR 27, 2025

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष पोउवा संघका अध्यक्षको संयोजकत्वमा संघर्ष समिति गठन

पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ । संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य रहेका छन् ।

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाको सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको हो’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘ संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्नेछ ।’ उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादति गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध पनि गरे ।

बैंक तथा वित्तीय संस्थाहरुबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी/व्यवसायीहरु मर्काम परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उनले ज्यादति तत्काल रोकिनुपर्ने माग पनि गरे । विषम परिस्थितिम कुनै बैंक तथा वित्तीय संस्थाहरुले कुनै व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने उनको भनाइ छ । उनले समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिए ।

भेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समिति एवं आफूलाई दिन आग्रह गरे । उनले दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ठ लालपूर्जा लगेर बुझाइने उद्घोष पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाहरुको सुदखोर व्यवहार मान्य नहुने बताए । उनले कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग पनि गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरुबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदास,वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका अधिकारीसहित विभिन्न बस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरुले पनि बोलेका थिए ।

पार्किङ निषेध अव्यवहारिक भएको ठहर

सोही भेलाले यही माघ २३ गतेदेखि पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय अव्यवहारिक भएको ठहर पनि गरेको छ । व्यवसायीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेको छ । भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार उद्योगी÷व्यवसायीहरुले आउँदो आइतबार निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

Facebook Comments