WEDNESDAY FEB 12, 2025

आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न नहुने भन्दै त्यसबारे आफूले निर्देशन दिएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए । आमसंचार विधेयक संसदमा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझाव अनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

‘रजिष्ट्रारको विषयमा मात्रै कुरा मिलेको छैन । कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमिलएको छ,’ उनले भने, ‘यसले छिट्टै निकास दिनेछ ।’

गण्डकी प्रदेश सरकारले लोककल्याणकारी काम गरेको उनले दाबी समेत गरे । गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभए पनि तुलनात्मक सन्तोषजनक भएको बताए ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म पुग्ने बताए । कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, सहसंयोजक शिरोमणि बराल, कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, युनियनका सल्लाहकार गंगाधर पराजुली, राजबहादुर गुरुङ, नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइराला, कांग्रेस महासमिति सदस्य सरस्वती गुरुङ लगायतले प्रेस युनियनको महाधिवेशनको बारेमा बोलेका थिए ।

युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।

Facebook Comments