दर्शन फाउण्डेशनद्धारा स्याङ्जाको बहाकोटमा निशुल्क स्वास्थ्य शिविर
दर्शन फाउण्डेशनको आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल) तथा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा स्याङ्जाको पुतलीवजार नगरपालिका वडा नं. ८ बहाकोटमा निशुल्क रगत तथा पाठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।
बहाकोटको भञ्ज्याङमा रहेको श्री नु बहाकोट मावि प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा करिब दुई सय जनाले रगत परीक्षण गराएका थिए भने साठी भन्दा वढि महिलाहरुले पाठेघरको जाँच गराएका थिए ।
प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै रोग लाग्नै नदिनु सवै भन्दा उत्तम उपाय भएतापनि रोग लागि हाले पालेर राख्न नहुने बताउनुभयो । उहाँले प्रायः नेपालीहरुलाई दैनिक खानपिन सम्बन्धि गलत सोचाइको कारण विरामी भएको धेरै समयसम्म उपचार नपाउने गरेको बताउनुभयो ।
कार्यक्रममा मुख्य प्राविधिक सहयोग गरेको संस्था युआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्तले विभिन्न संघसंस्थाको सहकार्यमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामिण भेगमा बस्ने सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको बताउनुभयो । युआरएलले यस भन्दा अगाडी शहर केन्द्रित कार्यक्रमहरु मात्र गरेको ग्रामिण क्षेत्रमा पहिलो पटक आयोजना गरिएको कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा बृहत स्वास्थ्य शिविर आयोजना गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा वडा कार्यालय, स्थानिय क्रान्तिदिप आमा समुह, क्रान्तिदिप युवा क्लब, बहाकोट स्वास्थ्यचौकी, बहाकोट कालिका एग्रो फर्म प्रा.लि., धोवादी एग्रो प्रा.लि.ले सहयोग गरकोमा प्रसंशापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा युआरएलका निर्देशक गणेश प्रसाद कोइराला, वडा सदस्य रबि सेन, श्री नु बहाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामकुमार थापा र पत्रकार कृष्ण रानाभाटले शुभकामना व्यक्त गर्नुभएको थियो।
दर्शन फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गौतम सिंह ठकुरीले र संचालन सचिव मदन मल्लले गर्नुभएको थियो ।