TUESDAY JUL 28, 2026

सक्रियता बढाउदै गण्डकी प्रज्ञा-प्रतिष्ठान

गण्डकी प्रज्ञा-प्रतिष्ठानले आफ्नो वाङ्मयिक सक्रियता बढाउँदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन प्रतिष्ठानले आगामी पुष महिनामा ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

‘हामीले निरन्तर कार्यक्रम गरिरहेका छौं, पौष महिनामा केही महत्त्वपूर्ण कार्यक्रम नाटक लेखन कार्यशाला, नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिका भाषा कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठी आयोजना गर्दैछौं’ सदस्य-सचिव श्रेष्ठले भने। सदस्य-सचिव श्रेष्ठका अनुसार प्रतिष्ठानले पौष २३ गते ‘मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम’ दोस्रो श्रृखला आयोजना गर्ने भएको छ ।


प्रतिष्ठानका विविध कार्यक्रममध्ये नाटक लेखन कार्यशाला पौष १ गतेबाट ११ गतेसम्म निरन्तर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पोखरामा आयोजना हुनेछ । कार्यशालामा सहभागी हुन इच्छुकले एकहजार शब्दमा नबढाई नमुना नाटक लेखेर मंसिर २३ गते बेलुका ५ बजेसम्म पठाइसक्नुपर्ने आयोजकको भनाइ छ ।

आवेदनमा परेका नाटकमध्येबाट बढीमा ८ आवेदकलाई उत्कृष्टताको आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको यो कार्यक्रमका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुने कार्यशालामा पोखरा थिएटरले सहकार्य  गरेको र पोखरा-प्रज्ञा प्रतिष्ठान कार्यक्रमको अर्को आयोजक पनि रहेको बताइएको छ । कार्यशालाको सहजीकरण खगेन्द्र लामिछानेले  गर्ने जनाइएको छ । स्मरण रहोस्, यस अगाडि प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशालासमेत सम्पन्न भइसकेको छ । 

यसैगरी पौष ४ गतेबाट ८ गतेसम्म स्याङजा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिने भएको छ । प्रतिष्ठानले सप्तक संगीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको कार्यशालामा २५ जनालाई सहभागी गराउने तयारी गरिएको कार्यक्रम संयोजक गमबहादुर गुरुङ बताउँछन् ।

यस्तै  स्थापित जाति; विस्तापित भाषाको दुई महिने कार्यशाला गण्डकी प्रदेशका माग भएका जिल्लामा पौष १० गतेबाट हुने छ । सदस्य-सचिव श्रेष्ठ बताउँछन्, ‘गण्डकी प्रदेशका ८४ जातिमध्ये सिरियल नम्बर १ देखि २० सम्मका २० जातिको अध्ययन गर्नेछौं । प्रत्येक जातिका ३ संस्कृति र ५ वटा बाजाको अध्ययन गरेर ती जाति संस्कृती र बाजाको पुस्तक तयार पार्नेछौं । उक्त अध्ययनलाई आधार बनाएर विद्यालयको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयकका रूपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी हो ।’

प्रतिष्ठान पौष महिनामा नै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तयारीमा रहेको देखिन्छ ।  तीन महिनासम्म चल्ने कार्यक्रम जिआइटीसँग मिलेर गर्न लागिएको तालिमका लागि एउटा समूहमा ५ जना रहने र सहभागीले एकथान पञ्चेबाजा पाउने बताइएको छ । पौष महिनाको दोस्रो हप्ता म्याग्दीमा आयोजना हुने कवि गोष्ठीमा कार्यपत्रसमेत प्रस्तुत गरिनेछ ।

प्रतिष्ठानले साहित्यका सबै विधाको संरक्षणमा लागिरहेको  कुलपति सूर्य खड्का बिखर्ची बताउँछन् । उनी थप्छन्, ‘गण्डकी प्रदेशका भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन, अनुसन्धानमा निरन्तर लागिरहेका छौँ ।’
यहीं मंसिर २९ गते प्राज्ञ सभा बैठक बस्ने र बैठकबाट आयोजना गरिसकेको कार्यक्रमको समीक्षा गरी अब आयोजना हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउन केही निर्णय गरिने उपकुलपति गोरे गुरुङले जानकारी दिए ।

Facebook Comments