TUESDAY SEP 17, 2024

सामाजिक विकासका लागि युवा जागरुक हुनु पर्छ : प्रदेश प्रमुख कुँवर

पोखरा – १६, बाटुलेचौरमा रहेको हिमालय क्लबको अध्यक्षमा मोहन बहादुर थापा ‘प्रयास’ चयन हुनु भएको छ ।

क्लबको सम्पन्न ११ औं अधिवेशनले थापाको अध्यक्षतामा पाँच सदस्य पछि चयन गर्ने गरी २१ सदस्यीय कार्य समिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा सुशील बस्नेत, द्वितीय उपाध्यक्षमा दुर्गालाल श्रेष्ठ, सचिवमा प्रकाश थापा, सह– सचिवमा भीमबहादुर गायक र कोषाध्यक्षमा शिवराज देवकोटा चयन हुनु भएको छ । सदस्यहरुमा दुर्गा के.सी. थापा, चित्रबहादुर थापा, लक्ष्मी श्रेष्ठ, कमला तिमिल्सिना, तुलबहादुर बस्नेत, पोषण थापा, विक्रम बस्नेत, यमबहादुर कार्की, योगेन्द्र बस्नेत, राजकुमारी बानियाँ रहनु भएको छ । यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवरले सामाजिक संघ संस्थाको क्रियाशिलताले मात्रै समाजको विकास हुने बताउनु भयो ।

क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ जीवनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापा, विन्दुकुमार थापा, कुमार खड्का, पुष्पा के.सी. भण्डारी, वडा अध्यक्ष जीवनप्रसाद आचार्य, क्लबका मानार्थ सदस्यहरु बेनीबहादुर बस्नेत, उदयबहादुर बस्नेत, प्रथम उपाध्यक्ष सुशील बस्नेत, सचिब मोहन बहादुर थापा लगायतकाले क्लबले गरेको कार्यको प्रशंसा गर्दै युवा लक्षित कार्यमा जोड दिएका थिए । त्यस अवसरमा क्लबले ऐतिहासिक बाटुलेचौर तीज मेलाका पूर्व संयोजकहरु, कृष्णप्रसाद अधिकारी, शालीग्राम भट्टराई बेनी बहादुर बस्नेत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष तेजबहादुर गुरुङ र उहाँकी श्रीमती साथै क्लबका जेष्ठ आजीवन सदस्य प्रेमबहादुर बानियाँलाई सम्मान गरेको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बाबुराम कुँवर, प्रदेश सांसद कुमार खड्का कृष्ण थापा, पुष्पा के.सी. भण्डारी र क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । लोक दोहोरी गायक रामजी पौडेल र तुलासा क्षेत्रीले साँस्कृतिक प्रस्तुति दिएको कार्यक्रममा झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरुले मंगलधुन बजाएका थिए ।

Facebook Comments