गणतन्त्रको कमालः राष्ट्रपतिद्धारा ८१६ को कैद माफी, ढुंगेल पनि ?
केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’ भनिएको छ ।
गएको कात्तिक १४ गते पक्राउ परेका बालकृष्ण ढुंगेललाई पनि यहि मेसोमा परेर ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रावधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् ।
सबै मंगलबार जेलमुक्त हुँदै छन्। विज्ञप्तिमा कर्तव्य ज्यानमुद्धामा जेलमा रहेका बालकृष्ण ढुंगेलको नाम नपरे पनि उनको नाम कैद माफी हुने सूचीमा रहेको स्रोतले बताएको छ ।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए ।
ढुंगेलको कैद सजाय माफी हुन लागेको समाचार सार्वजनिक भएपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सर्वोच्चले सोमवार त्यससम्बन्धी फाइल झिकाउने आदेश दिएकै दिन राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको छ।
ढुंगेलको मुद्दा हेर्दाहेर्दैमा छ । मंगलबार पनि सर्वोच्चमा सुनुवाई हुँदैछ ।