SUNDAY JUL 04, 2021

क्युवा विमान दुर्घटनाको ब्ल्याकबक्स भेटियो, देश दुई दिने शोकमा

क्युवाका अधिकारीहरुले शुक्रबार हवाना विमानस्थलनजिकै भएको विमान दुर्घटनाको ब्ल्याकबक्स सकुशल भेटिएको बताएका छन् । शुक्रबार एक सयभन्दा बढी मानिसहरुको ज्यान जाने गरी दुर्घटना भएको विमानको ब्ल्याकबक्स सही अवस्थामा भेटिएको हो । यद्यपि ब्ल्याकबक्सको विवरण भने आइसकेको छैन ।

क्युवाका यातायात मन्त्री अदेल यज्क्युर्डोले दोस्रो डिभाइस पनि अब छिटै नै फेला पर्ने विश्वास व्यक्त गरेका छन्। । आधिकारिक रुपमा अहिलेसम्म यो दुर्घटनामा परी एक सय १० जना मानिसहरुको ज्यान गएको र ११ जना विदेशीहरु रहेको पाइएको छ । यो दुर्घटनामा परेकामध्ये तीन महिनाको उद्धार गरिएको तर उनीहरुको अवस्था निकै गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । क्युवाको लागि शुक्रबार भएको दुर्घटना पछिल्लो एक दशकयताकै सबैभन्दा खराब हवाई दुर्घटना हो ।

अधिकारीहरुले ४० वर्ष पुरानो विमानको चिराहरुबाट घटनाको अध्ययन सुरु गरेका छन् । यो दुर्घटना हवानाभन्दा २० किलोमिटर दक्षिणमा भएको थियो । अहिले पाइएको ब्ल्याक्सबक्सबाट प्रमुख उडानहरुको विवरणका साथै विमानभित्र के भएको थियो भन्ने कुराको पनि विवरण पाउन सकिन्छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ९९ जना मानिसहरु क्युवाका नागरिकहरु रहेको र छ जना मेक्सिकन क्र्यु मेम्बर, एक जना मेक्सिकन पर्यटन, दुई जना अर्जेन्टिनाका पर्यटक र दुईजना पश्चिमी साहाराबाट आएका नागरिकहरु रहेका छन्  । क्युवाका राष्ट्रपति डायज क्यानलले पनि दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेक छन् । शुक्रबार उडेको केही समयमा नै बोइङको उक्त विमान दुर्घटना भएको प्रत्यक्षर्शीहरुले बताएका छन् । विमानस्थलनजिकै रहेको काठ राखिएको क्षेत्रमा सो विमान ठुलो आवाज आउने गरी विष्फोट भएको उनीहरुले बताएका छन् ।

यो दुर्घटनामा परेकामध्ये चारजनाको उद्धार गरिएको भए पनि एक जनाको उपचारको क्रममा ज्यान गएको छ र बाँकीको अवस्थामा पनि गम्भीर रहेको बताइएको छ । विमान दुर्घटनापछि क्युवाले दुई दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । अघिल्लो वर्ष अहिलेसम्मकै सबैभन्दा सुरक्षित हवाई यात्रा भएको विवरण सार्वजनिक भए पनि सन् २०१८ मा भने हवाई दुर्घटनाहरु अत्यधिक मात्रामा भएका छन् । गएको महिनामा अज्लेरियामा भएको विमान दुर्घटनामा दुई सय ५० जना मानिसहरुको ज्यान गएको थियो । फेब्रुअरी महिनामा रुसमा भएको दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका थिए ।

Facebook Comments