लमजुङ जिल्ला जनसरकारद्वारा पीडितलाई ठगिएको रकम फिर्ता
ओम हमाल । वैदेशिक रोजगारीमा जाने प्रलोभनमा रकम फँसाएका एक व्यक्तिको रकम नेपाल कम्युनिष्ट पार्टी समर्थित जनसरकारले पीडितलाई फिर्ता गराएको छ ।
लमजुङ जिल्ला जनसरकारले मध्ये नेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका दीपक पुरीको ठगिएको रकम फिर्ता गराएको हो । उनलाई कास्की जिल्लाको रुपाकोट गाविस वडा नं. ६ निवासी ध्रुव खड्काले करीब चार वर्ष अघि विदेश पठाईदिन्छु भनेर चार लाख ८० हजार रुपियाँ रकम असुली गरेका थिए । रकम असुले पश्चात् समपर्क विहीन बनेका खड्का विरुद्ध पीडित पुरीले लमजुङ जिल्ला जनसरकारमा उजुरी दिएका थिए ।
प्राप्त उजुरीपश्चात् लमजुङ जिल्ला जनसरकारले रकम ठगी गरेको आरोप लागेका ध्रुव खड्कालाई लुकीछिपी हिंडिरहेको अवस्थामा समातेर छलफल गराएको थियो । दुवैपक्षकाबीच छलफल हुँदा खढ्काले पीडित पुरीलाई आफूले असुलेको रकम फिर्ता गर्न सहमति जनाएका थिए । सहमति वमोजिम ध्रुव खड्काले पीडित पुरीलाई आज रकम बुझाएको प्राप्त समाचारमा जनाइएको छ ।
खड्काले गाउँका धेरै सीधा र सोझा गाउँले युवाहरुलाई विदेश पठाइदिन्छु भन्दै रकम असुली गरी बेपत्ता हुने गरेको बताइएको छ । जनसरकारमा उनीविरुद्ध उजुरी परेमा आवश्यक छानविन गरी आवश्यक कारवाही गरिने नेपाल कम्युनिष्ट पार्टी लमजुङका ईञ्चार्ज निरु थापाले जानकारी दिए ।
यति बेला गाउँशहर र बजारमा “विदेश पठाईदिन्छु” भन्दै मोटो रकम असुली गर्ने र रकम असुलेपश्चात् बेपत्ता हुने दलालहरुको विगविगी नै रहेको छ । यस्ता उजुरीहरु प्रहरी–प्रशासन र वैदेशिक रोजगार विभागमा परेपनि पीडित पक्षले न्याय पाउन धेरै नै दुःख पाउनुपर्ने हुन्छ । तर वैकल्पिक जनसत्ता चलाएको दाबी गर्ने नेकपाले भने यस्ता मुद्दामा पीडितलाई तुरुन्तै न्याय दिलाउने भएपछि पीडितहरु जनसरकारतर्फ आकर्षित भईरहेको नेकपा लमजुङका ईञ्चार्ज थापाको दाबी छ ।