बाबा आनन्द सञ्चार पुरस्कार लामिछानेलाई प्रदान गरिने
बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिने भएको छ ।
बुधवार बसेको प्रतिभा छनोट समितिको बैठकले बिगत १० बर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न रहदै आएका लामिछानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पर्वतको कुश्मा नगरपालिका निवासी लामिछानेले राष्ट्रिय स्वाभिमान साप्ताहिबाट पत्रकारिता सुरु गरेका हुन् । उनीसँग जनदिशा दैनिकको पोखरा व्यूरो प्रमुखको रुपमा काम गरेको अनुभव समेत छ । लामिछाने पोखराबाट प्रकाशित गण्डकी खबर दैनिकको कार्यकारी सम्पादक समेत रहेका थिए । हाल उनी नेपाल रिपब्लिक मिडिया अन्र्तगत नागरिकन्यूज डटकमको संयोजक छन् ।
लामिछानेले फेवाताल अतिक्रमणबारे निरन्तर कलम चलाएका छन् । उनले फेवातालको जमिन व्याक्तिको नाममा दर्ता भएको बारे निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए । फेवातालको अतिक्रमित जमिन फेवातालकै नाममा फिर्ता गराउन र ताल छेउछाउ मापदण्ड विपरित बनाइएका संरचना भत्काउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ ।
जेठ २२ गते मंगलवार (जुन ५) विश्व वातावरण दिवसका दिन पोखरामा प्रदान गरिने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा वहाँका परिवारजनबाट स्थापित भएको हो । पन्ध्र हजार एक सय एघार रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार स्वर्गिय श्रेष्ठको बार्षिक पुन्य तिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ ।
बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिने पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।
प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्कीकोे संयोजकत्वमा सदस्यहरु नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य सर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन् ।