FRIDAY APR 19, 2024

बार्सिलोनाको अपराजित यात्रा जारी, रियाल मड्रिडसंग बराबरी

स्पेनिस लिग फुटबलमा च्याम्पियन भइसकेको बार्सिलोनाको अपराजित यात्राको कीर्तिमान जारी रहेको छ । बार्सिलोनाले यो सिजनको सबैभन्दा चुनौतिपूर्ण खेलमा रियाल मड्रिडसंग बराबरी खेल्यो ।

आइतबार राति सिजनको अन्तिम एल क्लासिकोमा नोउ क्याम्पमा भएको खेल २–२ को बराबरीमा सकिएको हो । खेलको १० मिनेटमै लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर चार मिनेटमै क्रिष्टियानो रोनाल्डोले गोल फर्काएर बराबरी गरे ।

४५ औं मिनेटमा सर्जिओ रोबर्टो रातो कार्ड खाएर बाहिरिएपछि बार्सिलोना दबाबमा आयो । तर पनि गोल गर्यो । ५२ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे । तर रियाल मड्रिडका ग्यारेथ बेलले ७२ औं मिनेटमा गोल गरेर बराबरीमा ल्याए ।

तनावपूर्ण खेलमा रेफ्रीले एउटा रातो कार्ड र आठ वटा पहेंलो कार्ड देखाएका थिए । जारी लिगको ३५ खेलमा ८७ अंकसहित बार्सिलोना शिर्ष स्थानमा छ । बार्सिलोनाले २६ जित र ९ बराबरीका साथ कीर्तिमान राखेको हो । ३६ खेलबाट ७५ अंकको एथलेटिको मड्रिड दोस्रो र ३५ खेलबाट ७२ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ । दोस्रो स्थानको टक्कर कडा देखिएको छ ।

Facebook Comments