TUESDAY SEP 17, 2024

वेंगरको उपाधिहीन बिदाई : एथ्लेटिकोसँग पराजित हुँदै युरोपा लिगबाट बाहिरियो

म्याड्रिड । युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा पराजित भएपछि आर्सनलका प्रशिक्षक आर्सन वेंगरको यो सिजन उपाधि जित्ने अन्तिम अवसर गुमाएका छन् ।

एथ्लेटिको म्याड्रिडसँग दोस्रो लेगमा १–० को पराजयसँगै समग्रमा २–१ गोलअन्तरले पराजित भएपछि आर्सनल प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो लेगमा १–१ को बराबरीमा सकिएकोमा दोस्रो लेगमा चेल्सीका पूर्व स्ट्राइकर डिएगो कोस्टाले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्दै स्पेनिस टोलीलाई जीत दिलाए ।

एन्टोनियो ग्रिजमानको पासमा कोस्टाले गोल गर्दै आर्सनलको सपना चकना चुर पारे ।

पराजयसँगै आर्सनल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । आफ्नो २२ वर्षे आर्सनल करियरमा वेंगरले एक पटक पनि युरोपियन उपाधि जित्न सकेनन् ।

दोस्रो हाफको शुरुवातमै आर्सनलका आरोन रामशेले सुन्दर अवसर गुमाए भने त्यसपछि पनि आर्सनले थुप्रै अवसर गुमायो ।

खेलका दौरान आर्सनलले कप्तान लरेन्ट कोसियल्नीलाई चोटका कारण गुमाएको थियो ।

दुई पटकको च्याम्पियन एथ्लेटिकोले मे १६ मा फ्रेन्च क्लब मार्सेको सामना गर्नेछ ।

आरबी साल्सबर्गसँग २–१ गोलअन्तरले पराजित भएपछि समग्रमा ३–२ को जितको निकाल्दै मार्सेले फाइनलको यात्रा तय गरेको हो ।

Facebook Comments