SATURDAY DEC 06, 2025

सङ्गम सांस्कृतिक मञ्चमा गुन्जिए रानाभाटका गीत

गीतकार भीम रानाभाट ज्यालादारीका गीतहरु शनिबार पोखरामा गुन्जिएका छन्। सङ्गम सांस्कृतिक मञ्चले सङ्गम सांस्कृतिक यात्राको तेस्रो शृङ्खलामा रानाभाटका गीत प्रस्तुत गरेका हुन्।


प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष रानाभाटको हालै प्रकाशित गीत सङ्ग्रह ‘पग्लिँदैन सगरमाथा’मा समेटिएका करिब १ दर्जन गीत सङ्गम सांस्कृतिक मञ्चका कलाकारले गाएका हुन्।


समारोहमा गीतकार ज्यालादारीका गाउँघरका साइँलाहरु…, झारको बीऊ…, सम्झेको छु हार पनि जीत…, सुन्दर भन्छन् पोखरा…, आमा तिम्रो काख…लगायतका गीतहरु प्रस्तुत गरिएका थिए।


गीतकार ज्यालादारीले आफूले श्रमजीवी नेपालीका पीर, व्यथालाई गीतमा उतार्ने प्रयास गरेको बताउँदै साहित्यले जनताको सुखदुःखमा साथ दिनुपर्ने विचार राख्दै साहित्य र सङ्गीतको समन्वय सही ढङ्गले हुन सके समाज परिवर्तनमा सघाउ पुग्ने बताए।


कार्यक्रममा रानाभाटका अलावा काजी गाउँले, सुरज उपाध्याय, विकास लुङ्गेलीका गरी डेढ दर्जन गीत पदमराज ढकाल, काजी गाउँले, विकास लुङ्गेली, डी. बी. बान्तवा, सङ्गीता सुनाम, खेम लामा, रोशन लामा, ओमविक्रम ओझा, शान्ति लुङ्गेली, साइमन श्रेष्ठ, सिर्जना थापा, सन्तोष बलम्पाकी, उज्ज्वल भट्ट, इशु भण्डारी, सोगित गुरुङलगायतका कलाकारले प्रस्तुत गरेका थिए।


उपस्थित दर्शकलाई अध्यक्षता गराइएको कार्यक्रममा रक्तिम अभियानका कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन रुपिन्द्र प्रभावीले गरेका थिए।

Facebook Comments