THURSDAY APR 30, 2026

कक्षा १२ को परीक्षाम अाजबाट सुरु : चारलाख १५ हजार विद्यार्थी सहभागी

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा शुक्रबार बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।  सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ ।

परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए ।

बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन भएका छन् ।

कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा भने वैशाख ३० गतेदेखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बताए ।

परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र रु एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । साभारः अन्नपूर्ण पोष्ट

Facebook Comments