जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”
काठमाडौं — जेन्जी आन्दोलन, नेपालले सर्वोच्च अदालतमा दर्ता गरिएको “मृत प्रतिनिधिसभाको पुनरुत्थान” सम्बन्धी मुद्दा प्रति कडा आपत्ति जनाउँदै त्यसलाई “विद्रोही युवाको बलिदानमाथिको घात” भनेको छ।
आन्दोलनका अगुवा रवि किरण हमालद्वारा जारी वक्तव्यमा भनिएको छ कि जेन्जी विद्रोह कुनै सामान्य राजनीतिक आन्दोलन नभई “हाम्रो पुस्ताको रगतले लेखिएको राष्ट्र–पुनर्जागरणको घोषणापत्र” हो।
वक्तव्यमा भाद्र २३ र २४ गते भएको विद्रोहपछि राज्य संयन्त्र जनताको अघि नतमस्तक भएको तर त्यसै जनआदेशलाई उल्ट्याउने प्रयास भइरहेको आरोप लगाइएको छ।
हमालले सर्वोच्च अदालतलाई चेतावनी दिँदै भनेका छन् —
“अदालत न्यायको प्रतीक हो, सत्ताको उपकरण होइन। यदि सर्वोच्च अदालतले पनि भ्रष्ट राजनीतिक शक्तिको हातमा आत्मा बेच्छ भने देश पुनः रक्तपात र गृहसंघर्षमा फस्न सक्छ।”
आन्दोलनले राज्यका सबै अंगलाई जनताको आदेश र युवाको बलिदानको सम्मान गर्न आग्रह गरेको छ। वक्तव्यमा भनिएको छ —
“देशका सडकहरूमा बगेको युवाको रगतलाई कानुनी खेल र संवैधानिक जुक्तिले मेटाउन खोज्नेहरूले सम्झून, यो पुस्ताको रगत सुक्न पाएको छैन, हामी निदाएका छैनौं।”
अन्त्यमा, हमालले सम्पूर्ण नेपालीहरूलाई जेन्जी पुस्ताको विद्रोहलाई सम्मान र संस्थागत गर्न एकजुट हुन आह्वान गरेका छन्।

