SUNDAY DEC 08, 2024

बालश्रमविरुद्धको दिवसमा क्लेपको बिविध कार्यक्रम

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रम (क्लेप)ले अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

अंग्रेजी पात्रो अनुसार जुन महिनाको १२ तारिखलाई बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । बालश्रमविरुद्ध विभिन्न अभियान संचालन गर्दै आइरहेको क्लेपले मंगलबार श्रमिक बालबालिकाहरुको हितको लागि गठन गरिएको बाल क्लव र किशोरी समूहले पृथ्वीचोकदेखि नागढुंगा हुँदै सृजनाचोकसम्म घरदैलो कार्यक्रम सम्पन्न गरे । घरदैलो कार्यक्रमको अवसरमा उनीहरुले श्रमिक बालबालिकाहरुलाई पढ्न पाउने वातावरण बनाउन तथा १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई श्रममा नलगाउन आग्रह गरेका थिए । चेतनामूलक सो कार्यक्रममा वडा नम्बर ८ बालमञ्च पनि सहभागी भएको थियो ।

यसैगरी श्रमिक बालबालिकाहरुलाई आफ्नो प्रतिभा प्रष्फुटन तथा भावना व्यक्त गर्नको लागि साँस्कृतिक कार्यक्रम, कविता बाचन, चित्रकलालगायतका कार्यक्रमहरु समेत गरिएको छ । यसैगरी बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा क्लेपले पोखरामा विभिन्न पेशा र व्यवसायमा संलग्न आम नागरिकहरुलाई ‘बालश्रमको प्रयोग नगरौँ, युवा रोजगारको प्रवद्र्धन गरौँ’ भन्ने सन्देश पठाउँदै बालश्रमविरुद्ध जनमत सृजना गर्ने अभियान समेत सम्पन्न गरेको क्लेपकी कार्यक्रम अधिकृत प्रिति पाण्डेले जनाउनुभयो । श्रमिक बालबालिकाहरुले बनाएका चित्रहरु बुधबारबाट एकहप्तासम्म पोखरा उद्योग वाणिज्य संंघको हलमा प्रदर्शनीमा राखिनेछ ।

क्लेपका अनुसार अहिले पोखरा नगर क्षेत्रमा १६ वर्षभन्दा कम उमेरका ४ सय ७७ जना बालश्रमिक रहेका छन् । आफूले काम गरेको ठाउँमै बस्ने तथा त्यहीँ खानेहरुको तथ्याङ्क मात्र आफूहरुसँग भए पनि सिँगो पोखरा लेखनाथ महानगरमा बालश्रमिकको संख्या ३ हजारको वरपर भएको पाण्डेको अनुमान रहेको छ ।

‘हामीसँग कार्यस्थल निश्चित भएकाहरुको मात्र तथ्याङ्क छ, दिनभर काम गरेर घर जाने, घुमन्तेरुपले निर्माण तथा अन्य क्षेत्रमा काम गर्नेहरुको नयाँ तथ्याङ्क हामीसँग छैन’, पाण्डेले भन्नुभयो,‘ श्रमिक बालबालिकाहरु जोखिममा छन् र उनीहरुलाई राज्यस्तरबाटै विशेष कार्यक्रममार्फत हेरिनु जरुरी छ ।’ अहिले पोखरा लेखनाथ महानगरको कार्यक्षेत्र बढेर ३३ वटा बडा भएकोले पनि निश्चित तथ्याङ्क आउन नसकेको उनको भनाई छ ।

पछिल्लो समयमा बैंक तथा अन्य कर्पोरेट क्षेत्रमा काम गर्नेहरुले नै घरमा आफ्ना सन्तति हेर्नको लागि बालश्रमिक प्रयोग गरेको पाइएको छ । उनीहरुले आफूकहाँ काम गर्ने बालश्रमिकलाई विद्यालय भर्ना गराए पनि शिक्षाप्रति उचित ध्यान नदिएको तथा आफूहरुले बालश्रमिक राखेको हैन कि उनीहरुलाई खान दिएर राम्रो काम गरेको मान्ने गरेका छन् ।

Facebook Comments